वैकल्पिक राजनीतिः पागलहरुको ‘एन्टी थेसिस’

केशव दाहाल ।  के डा. बाबुराम भट्टराई एक्लिएकै हुन् ? के नयाँ शक्तिका अभियन्ताहरु पागल छन् ? अन्यथा चौतर्फी प्रहारमा पनि उनीहरु कसरी शीर ठाडो राखेर हिँड्न सकेका होलान् ? यी प्रश्नहरु यो हप्ता नेपाली राजनीतिमा सर्वाधिक चर्चा गरिएका प्रश्नहरु हुन् ।
नयाँ शक्तिभित्रका पछिल्ला अन्तरसंघर्षमा रमाउनेहरु समेत यी प्रश्नसँगै व्यंगपूर्ण उत्तरहरु खोजिरहेका छन् । उनीहरु मुसक्क मुस्कुराउँदै भन्छन् हो त । विचरा गोरखाली बाहुन एक्लै परे ।

उनीहरुको ठोकुवा छ- मूलधारको राजनीतिको मजा लिन छाडेर अप्ठ्यारोे भीरतिर हिँड्ने नयाँ शक्तिका कार्यकर्ताहरु पागल नै हुन् । माओवादी पृष्ठभूमिका केही नेताहरुले नयाँ शक्तिको राजनीतिक ‘थेसिस’ माथि केही बुँदामा आलोचना गरेपछि मूलतः माके र केही परम्परागत वचश्र्वमा रमाउनेहरुलाई खुबै मज्जा आएको हुनुपर्छ । उनीहरु प्रार्थना गर्दैछन् कि पूर्वमाओवादीहरुले नयाँ शक्ति छोडुन् । नयाँ शक्तिमा नयाँ भनिएकाहरुले पनि बाबुरामलाई लात्तीले हानुन् । भट्टराई थिलथिलो हुन् र पुनः प्रचण्डकै शरणमा पुगुन् ।

उनीहरुको चाहाना छ, नयाँ शक्ति विघटन होस् र पागलहरु बिल्लीबाठमा परुन् ।

तर, राजनीतिको परम्परागत जोडघटाउमा रमाउने नादानहरुको बचकना अपेक्षा हो यो । गोर्खाको हठी बाहुन न त त्यति सजिलै गल्ने देखिन्छ, न त डगमगाउने । न त नयाँ शक्तिका अभियन्ताहरु मुर्झाएकै छन् । भट्टराईलाई नजिकबाट जान्नेहरु भन्छन् उनी ‘ज्याद्रा’ छन् ।

यहीँनेर प्रश्न गरौं, के होला वैकल्पिक राजनीतिको प्रेरणा स्रोत ? के कारण छ कि राजनीतिका यी पागलहरु सधंै हाँसिरहेका छन् ? के अझै नेपालमा वैकल्पिक राजनीतिको सान्दर्भिकता छ ?

डा. भट्टराई भन्छन् वैकल्पिक राजनीतिक अभियान विश्वराजनीतिको ‘नविन प्रोजेक्ट’ हो, यसको भविश्य छ । निश्चय नै वैकल्पिक राजनीति पुराना वर्चश्वहरुमाथि नयाँ भविश्यको वगावत हो । अबको विश्व राजनीति न त परम्परागत लोकतन्त्रको सीमाभित्र अटाउँछ, न त पुँजीवादको गुलियोमा रमाउँछ । न त वर्गीय पक्षधरतामै बाधिन्छ । यो जाति, भाषा र क्षेत्रको संकुचित राजनीति पनि होइन । गहिरो लोकतन्त्र र मानव गरिमा, सम्पूर्ण न्याय र समृद्धि यसको ‘कोर’ संकल्प हो । पुरानो राजनीतिका सीमाहरु जहाँबाट सकिन्छन्, त्यहीँबाट वैकल्पिक राजनीतिका अथाह सम्भावनाहरु उजागर हुन्छन् । अतः वैकल्पिक राजनीतिको नेपाली वहस बिश्व राजनीतिकै अभिन्न अंग हो । यो वहसमा जोडिने ब्यक्ति, संस्था र संकल्पहरु न त एक्लो छन् न त पागल । त्यसैले नै भट्टराई भन्छन् म एक्लो छैन । न त कहिल्यौं एक्लो हुनेछु ।

संसारभर खालखालका वैकल्पिक पार्टीहरु छन् । कतै वामपन्थी चरित्रका पार्टीहरुले आफूलाई वैकल्पिक भनेका छन् । कतै उदार लोकतन्त्र र हरित क्रान्तिको कुरा गर्नेहरु आफूलाई वैकल्पिक भन्छन् । कतै जवाफदेहिता र असल शासनको पैरवी गर्नेहरुलाई वैकल्पिक भनिएको छ । कतै समावेशीकरणका पक्षघरहरुलाई ।

निश्चय नै कट्टर समाजमा उदार पार्टीहरु वैकल्पिक होलान् । उदार समाजमा सामाजिक न्यायसहितको वामपन्थले वैकल्पिक मान्यता पाउला । अझ धेरै लोकतन्त्रको मुद्दा कतै वैकल्पिक होला । कतै विकास र समृद्धिको ।

नेपालमा सहभागितामूलक लोकतन्त्र, समावेशीकरण, सुशासन, समृद्धि र समुन्नत समाजवादका प्रस्तावकहरुले आफूलाई वैकल्पिक पार्टी भनेका छन् । जे होस् वैकल्पिक पार्टीहरु राजनीतिमा नयाँ ‘न्यारेटिभको’ खोजी गरिरहेका छन् । उनीहरु पागल हुन् कि मूर्ख ? इतिहासले त्यसको छिनोफानो गर्ला ।

नयाँ शक्तिका एक अभियन्ता भन्छन् ‘राम्रो कुरा गर्नु पागलपन हो भने हो हामी हजार पटक पगल हुन तयार छौं’ । ठीक यहीँनेर वैकल्पिक राजनीतिको ‘नयाँ न्यारेटिभ’ र पागलहरुको ‘एन्टी थेसिस’ माथि थोरै चर्चा गरौं ।

फ्रान्समा मार्च १, २००६ मा नै ‘लिवरल अल्टरनेटिभ’ नामको पार्टी स्थापना गरिएको थियो । सोसियलिज्म् अथवा कन्जरभेटिजमको विकल्पमा यसले ‘क्लासिकल लिवरलिज्म’को प्रस्ताव गरेको थियो । त्यसैले आफूलाई अलग देखाउन यो पार्टीले आफ्नो आधिकारिक रंग ‘परपल’ छनोट गरेको थियो । लेफ्टको ‘रेड’ र राईटको ‘ब्लु’ रंगको विकल्पमा यसले ‘परपल’ रंगबाट आफूलाई चिनाउने प्रयत्न गरेको थियो ।

सन् २००७ मा भएको राष्ट्रिय निर्वाचनमा यो पार्टीले ५० जना उमेद्धार उठायो । जसले जम्मा खसेको मतको बढीमा १.४९ प्रतिशत मात्रै मत प्राप्त गर्‍यो ।

‘लिवरल अल्टरनेटिभ’ पार्टी स्थापनाको ७ बर्षपछि सन् २०१३ मा फ्रान्समा अर्को नयाँ राजनीतिक पार्टी स्थापना गरियो । ३९ बर्षका पूर्व वित्तमन्त्री इमानुल म्याक्रोनको नेतृत्वमा खुलेको नयाँ पार्टीले राष्ट्रपतिको निर्वाचन मात्रै जितेन, पछिल्लो संसदीय निर्वाचन जितेर एक वर्षमै फ्रान्सको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रुपमा आफूलाई स्थायी गर्‍यो ।

यो पार्टीले पनि आफूलाई वैकल्पिक पार्टी भनेको छ । उसले आफूलाई न लेफ्ट, न राइट बरु फ्रन्टिस्ट पार्टी भएको बताउँछ । यो पार्टीले फ्रान्सका जनताको पछिल्लो ‘आशा र सपना’ को प्रतिनिधित्व गर्छ । छदाँखादाँको मन्त्री पद छाडेर वैकल्पिक राजनीतिको बाटोमा हिँडेका ईमानुल म्याक्रोन र उनका समर्थक के पागल थिए ?

‘अल्टरनेटिभ फर जर्मन’ जर्मनमा स्थापित वैकल्पिक पार्टी हो । यो पार्टी सन् २०१३ अप्रिलमा स्थापना भयो । यसले सन् २०१३ मा जर्मनमा भएको संघीय निर्वाचनमा ४.७ प्रतिशत मत प्राप्त गर्‍यो । तर, ५ प्रतिशत थ्रेसहोल्ड यो पार्टीले कटाउन सकेन । यद्यपि यो पार्टीलाई जर्मनको आदर्श राजनीतिको सिम्वोलका रुपमा हेरिन्छ । मान्छेहरु भन्छन् यसको भविश्य छ ।

उता डेनमार्कमा ‘द अल्टरनेटिभ’ नामको पार्टी छ । २७ नोमेम्वर २०१३ मा सोसल लेवर पार्टीका स्थापित नेताहरुले यो पार्टी स्थापना गरेका हुन् । यसका नेताले वैकल्पिक पार्टी स्थापनाका लागि सोसल लेवर पार्टीको पार्लियामेन्ट सदस्यबाट राजीनामा दिएका थिए । ‘हरित राजनीति’ र ‘प्रगतिशीलता’ यो पार्टीका सिद्धान्त हुन् । आफ्नो स्थापनाको छोटो समयमा यो पार्टीले निर्वाचनमा भाग लियो । २४४४ नगर परिषदमध्ये यो पार्टीका ३ सदस्यहरुले मात्रै जिते । १७९ सदस्यीय पार्लियामेन्टमा यसका ९ सदस्य छन् ।

डेनमार्कको यो पार्टीले युरोपमा वैकल्पिक पार्टीहरुको भाइचारा सम्वन्ध निर्माणका लागि समेत काम गरिरहेको छ । यसका अभियन्ताहरु आफूलाई न त कहिल्यै एक्लो ठान्दछन्, न त कमजोर ।

धेरै मान्छेहरुले अमेरिकाको दुई पार्टी पद्दतिको कुरा गर्दछन् । तर, यो सत्य होइन । निश्चय नै अमेरिकामा ठूला दुईवटा पार्टीहरु पालैपालो सत्तामा आउँछन् । तर, अमेरिकाको राजनीतिमा साना खाले अनेकौं पार्टीहरु छन्, जसले परम्परागत राजनीतिबाट असन्तुष्ट ६० प्रतिशत जनतालाई विकल्प दिने कोशिश गरिरहेका छन् । यसरी विकल्प दिने प्रयत्न गरिरहेका पार्टीहरुमा मुख्यतः ‘गि्रन पार्टी अफ युनाइटेड स्टेट’ र ‘द लिवरेटेरियन पार्टी’ मुख्य छन् । उनीहरु आफूलाई वैकल्पिक पार्टी बताउँछन् । यद्यपि निर्वाचनमा उनीहरुको सफलता नगन्य छ । तर उनीहरु निराश छैनन् । भन्छन् ‘समय लाग्छ, तर सत्य कहिल्यै पनि हार्दैन’ ।

‘अल्टरनेटिभ युके’ नामको युकेमा एउटा राजनीतिक अभियान छ । यो पार्टी हैन । तर, वैकल्पिक राजनीतिलाई प्रवर्द्धन गर्ने यो अभियानको मुख्य उद्देश्य हो ।

सन् २०१७ मार्च १ मा सयभन्दा धेरै लोकपि्रय कलाकार, राजनीतिक अभियन्ता, लेखक, पत्रकारहरु मिलेर सुरु गरिएको यो अभियानले राजनीतिमा नयाँ र प्रगतिशील धारको खोजी गर्छ । उनीहरु प्रश्न गर्छन्, के हिजोको राजनीतिले हामीलाई सुख दियो ? त्यसले जनताका सपनाहरुको पटक-पटक हत्या गर्‍यो । त्यसैले हामी पटक- पटक नमर्ने गरी कसरी बाँच्न सक्छौं ? त्यसका लागि कस्तो राजनीति चाहिन्छ ? उनीहरु यस्तै प्रश्न गरिरहेका छन् । ‘म, हामी र विश्व’ लाई अझ सुन्दर बनाउने राजनीतिको खोजी गर्ने उनीहरुको अभियान जनताको अभियान हो । उनीहरु भन्छन् ‘हामी चुनाव र जितहार भन्दा धेरै अरु कुरा खोजिरहेका छौं ।’

हाम्रै दक्षिण छिमेकमा स्थापित आम आदमी पार्टी हाम्रा लागि कुनै नयाँ नाम होइन । आफ्नो स्थापनाको छोटो समयमै यसले दिल्लीमा आफ्नो राजनीतिक पकड स्थापित गरेको छ । यो पार्टी कस्तो छ ? यसले राजनीतिमा कस्तो प्रभावहरु बनाउँदैछ ? यो हाम्रा लागि निकै रोचक सन्दर्भ हुन सक्छ । यो पार्टीको कुनै ‘स्पेसिफिक हाई कमाण्ड’ छैैन । पार्टी तलबाट माथि बन्ने सिद्धान्तबाट निर्माण हुँदैछ । परिषद् सदस्यहरुले कार्यसमिति बनाउँछन् । परिषदमा कार्यसमिति सदस्यलाई फिर्ता बोलाउने अधिकार दिइएको छ ।

त्यसो त आम आदमी पार्टीका निर्वाचित पदाधिकारीहरु रातो बत्तीवाला गाडीको प्रयोग गर्दैनन् । उनीहरु विशिष्ठ सुरक्षा लिँदैनन् । जनप्रतिनिधिहरुले जनताको भन्दा विशेष सुरक्षा लिनु आवश्यक छैन भन्ने उनीहरुको मान्यता हो । घर हुने जनप्रतिनिधिले आवासका लागि कुनै विशेष सरकारी सुविधा लिँदैनन् । उनीहरुले न त निर्वाचनमा टिकेट खरिद बिक्री गर्छन् । न त जित्नका लागि अनावश्यक खर्च, प्रोपोगाण्डा र हतकण्डा नै । आम आदमी पार्टी पूर्ण पारदर्शी छ । खर्चहरु पार्टीको वेवसाइडमा राखिन्छ ।

पार्टीका प्रत्येक सदस्यले आचारसंहिताको पालना गर्नुपर्छ । जसको अनुगमनका लागि स्वतन्त्र आयोग छ । पार्टी सदस्यहरुमाथि प्रमाणसहित सबै नागरिकले अपराधको सूचना दिन सक्ने ब्यवस्था गरिएको छ । यस्ता सूचनाहरुमाथि अनुसन्धान गर्ने स्वतन्त्र संरचना छ । पार्टीले ‘राईट टु रिजेक्ट’ लाई अपनाएको छ । मतदाताहरुलाई आम आदमी पार्टीबाट निर्वाचित जनप्रतिनिधिमाथि चित्त नबुझे ‘राईट टु रिजेक्ट’ गर्ने अधिकार छ । सुन्दर कुरा, यो पार्टीमा एउटै परिवारका दुई सदस्यहरु कुनै पनि लाभको पदमा जान वा एउटै कमिटकिो सदस्य बन्न वर्जित छ ।

यसरी आम आदमी पार्टी भारतको राजनीतिमा कृयाशील १७ सय दलहरु भन्दा फरक छ । आम आदमी पार्टीका अभियन्ताहरु गर्वसाथ भन्दछन् कि ‘राजनीतिमा बदलाव ल्याउन हामीले वैकल्पिक पार्टीको प्रस्ताव गरेका हौं । राजनीतिले हामीलाई पुरानै पारामा नलैजाओस् भन्नेमा हामी सचेत छौं’ ।

संसारभरका वैकल्पिक पार्टीहरुको एउटा साझा कुरा छ । उनीहरु भन्छन्-वैकल्पिक पार्टी वैकल्पिक राजनीतिको बृहत्तर अभियान हो । यो राजनीतिक डिस्कोर्ष बदल्ने प्रकृया हो । यो भोटबाट सफलता नाप्ने र सत्ताको जोडघटाउ गर्ने मात्रै अभियान होइन । आम आदमीका अभियन्ताहरु भन्छन्- ‘हामीलाई वैकल्पिक पार्टी मात्रै चाहिएको होइन, यसको मुख्य लक्ष्य वैकल्पिक राजनीति हो ।’

पार्टीहरुको विकल्पमा नयाँ पार्टी खोल्नु वैकल्पिक पार्टी हो । सबै पार्टीहरुलाई नयाँ राजनीतिक मार्गदर्शनगर्नु वैकल्पिक राजनीति हो । अतः वैकल्पिक पार्टीको उदेश्य हुनुपर्छ राजनीतिको सफाइ । समाज परिवर्तन गर्न एउटा मात्रै पार्टी ठीक भएर हुँदैन । सबै खराबहरु छन् भने एउटाले मात्रै जनतालाई न्याय गर्न सक्दैन । त्यसैले वैकल्पिक राजनीतिको उद्देश्य हुनुपर्छ, सबै पार्टीहरुको तरिका बदल्नु । सम्पूर्ण राजनीतिमा परिवर्तन ल्याउनु ।

फेरि पनि नेपाली राजनीतिका पछिल्ला प्रश्नहरुभित्रै पसौं ।

के नेपाली राजनीतिलाई सफा गर्छु भन्नु पागलपन हो ? के असल कुराको सुरुवात भीडबाट हुन्छ ? यदि त्यसो हुन्थ्यो त वीपी कोइराला नेपाली राजनीतिका माहापागल हुने थिए । पुष्पलाल भीडहरुमा हराउने थिए । तर, त्यस्तो भएन ।

सबैलाई थाहा छ, कुनैबेला वीपी कोइराला एक्लै थिए । पुर्वप्रधानमन्त्री जस्तो मान्छेलाई राजा महेन्द्रले जेल हाले । सुन्दरीजल जेलको चौघेरामा कैद वीपीलाई नजिकका हितैषीहरुले समेत छाडे । अस्वस्थ वीपीले आफ्नै अगाडि राजा महेन्द्रको जयजयकार गरिएको देखे । यस्तो लग्थ्यो कि इतिहास उल्टँदै छ । तर, वीपी हारेनन् । न त पुष्पलालले भिडको लोभ गरे । किनभने त्यो युगको सम्पूर्ण इतिहास उनीहरुको आस्थासँग जोडिन्थ्यो ।

परिणामतः आज न त वीपी एक्ला छन् न त पुष्पलाल । बरु इतिहासले निर्माण गरेका लाखौ शुभेच्छुक उनीहरुसँग छन् ।
यसर्थ नै परिवर्तनको संखनाद गर्नेहरु कसैका लागि पागल होलान् त कसैका लागि एक्ला । तर, नयाँ युगको सुरुवात त्यहीँबाट हुन्छ । त्यसैले सत्य बोल्नेहरुले ‘भिडको’ चिन्ता गर्नु हुँदैन बरु ‘युगको’ चिन्ता गर्नु पर्छ ।

निश्चय नै चलन चल्तीको सत्ता, शक्ति र स्वार्थसँग बगावत गर्नु पागलपन नै हो । कुनै ठूला राजनीतिक पार्टीहरुसँग आत्मासमर्पण गर्नु जति सजिलो काम के होला ? चलनचल्तीको तालमा रमाउनुको बदला राजनीतिको नयाँ संगीत बनाउँछु भन्नुजति ठूलो पागलपन के होला ? परम्परागत राजनीतिको बजारमा त्यही पागलपनको रोमाञ्चक कहानीजस्तो लाग्छ वैकल्पिक राजनीति ।

तर, जानीबुझीकनै पागलहरु परम्परागत राजनीतिको ‘एन्टी थेसिस’ बनाउँदै छन् । उनीहरुलाई थाहा छ, आजका पागलहरुले एक दिन राजनीतिको नयाँ गाथा बनाउनेछन् । त्योबेला आज एक्लै उभिएकाहरु कोही पनि एक्लो हुनेछैनन् । त्योबेला आजका पागलहरु सबैभन्दा विवेकशील भनिनेछन् । मुख्य कुरा समय हो । समयले नै सबैको हिसाब-किताब गर्ने छ ।

(दाहाल नयाँशक्ति पार्टीका नेता हुन्) -onlinekhabar

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

एउटा दर्दनाक प्रेम यसरी टुङगीयो

सोविता रिसाल । साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा

बाढी पहिरोबाट कसरी बच्ने ?

बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका